वायोग्याँस प्रवद्र्धनको अवसर र चुनौती सम्बन्धि एकदिने कार्यशाला सम्पन्न

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

नेपालमा घरायसी उपभोगदेखि ठूलो क्षमताको वायोग्याँस प्रवद्र्धनको अवसर र चुनौति विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

जर्मन सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सोमबार उपत्यकामा आयोजना गरेको कार्यक्रममा आयोजक केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले नेपालमा वायोग्याँसको विकासक्रमदेखि वर्तमान अवस्था र भावि कार्यक्रमबारे जानकारी गराए।

यसको कार्यान्वयनको अवस्था, चुनौती र अवसरहरुका साथै यस सम्बन्धि केन्द्रले गरिहेको कार्यहरुबारे जानकारी दिँदै अधिकारीले वायोग्याँसको निर्माण र प्रवद्र्धनमा सहयोग गर्ने सबै अन्तराष्ट्रिय विकास साझेदार संस्था र नीजि क्षेत्रलाई विशेष धन्यबाद दिए।

कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री गणेश शाहले नेपालमा वायोग्याँस प्लान्ट निर्माणका लागि प्रशस्त सम्भावना भएको तर, यस सम्बन्धि दक्ष प्राविधिक तथा विज्ञहरु उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताए।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव प्रविणराज अर्यालले सरकारले पछिल्लो वर्षहरुमा उर्जा संकट न्युनिकरण गर्न नवीकरणीय तथा वैकल्पिक उर्जाका लागि विशेष महत्वका साथ नीति, कार्यक्रम तथा बजेट विनियोजनमा समेत प्राथमिकता राज्यले दिएको जानकारी दिए।

उनले यसको प्रभावकारी कार्यान्वयनका साथ दिगो बनाउन सबै सरोकारवाला पक्षलाई साथ र सहयोगको लागि आग्रह समेत गरे।

नेपालका लागि जर्मनीका राजदुत रोलान्ड सेफरले जर्मनीले नेपालको विकास र समृद्धीका लागि सदैव साथ र सहयोग गरिरहेको र यो क्रम निरन्तर रहिरहने आश्वासन दिए।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकाल र वायोग्याँस विज्ञ सुसिममान अमात्यले नेपालमा घरायसीदेखि व्यावसायीक प्लान्टका बिभिन्न पक्षमा प्रस्तुतीकरण गरेका थिए।

व्यावसायीहरुका तर्फबाट कुशल गुरुङ, विपुलराज पाण्डे र अभिरथ अग्रवालले ठुला क्षमताको बायोग्यासको अवस्था, चुनौती र अवसरहरुकाबारेमा अनुभव आदान प्रदान गरेका थिए।

नेपाल सरकार तथा विभिन्न दातृ निकायको सहयोगबाट हालसम्म ७७ वटै जिल्लामा १२ घनमिटर भन्दा कम क्षमताका ४,२४,००० भन्दा बढि प्लान्टहरु घरायसी प्रयोजनका लागि संचालनमा छन् भने विभिन्न जिल्लामा अनुदान प्राप्त १२ देखि ५५०० घनमिटर क्षमताका व्यावसायीक प्लान्टहरुको संख्या.१६० रहेका छन्।

वायोग्याँस प्लान्ट एक पटक निर्माण गरेपछि २० वर्ष भन्दा बढी समयसम्म स्वच्छ उर्जा उत्पादन हुन सक्दछ।

जसबाट खाना पकाउन एलपि ग्याँस, मट्टितेल तथा दाउरामा लाग्ने खर्च र समयको बचत हुन्छ। यसबाट जैविक फोहोर व्यवस्थापन, प्रदुषण नियन्त्रण, वातावरण संरक्षण, मानव स्वास्थ्य र आर्थिक रुपमा समेत विभिन्न फाईदा हुन्छ।

वायोग्याँस प्लान्टबाट उत्पादित ग्याँस, विद्युत र प्रांगारिक मलले एलपि ग्यास, मट्टितेल तथा रसायनिक मलको आयात प्रतिस्थापनमा सहयोग पुगी बढ्दो ब्यापार घाटा न्युनिकरणमा समेत सहयोग पुगेको छ।

यसका अतिरिक्त विश्वव्यापी रुपमा बढ्दै गएको वातावरणीय प्रभावमा वायोग्याँस नेपालको सफल प्रयोगका कारण देशभित्र कार्बन उत्र्सजनमा कमि गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेवापत क्योटो प्रोटोकल अनुसार नेपाल पनि कार्बन व्यापार गर्न सफल राष्ट्रको रुपमा चिनिएको छ।