राणा र लोहनीबाट बिच्किएका बोहरा कमल थापासँग टाँसिए

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, फागुन १२

पुशपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीबीच पूर्व पञ्चहरुको दुई राप्रपा एकीकरण भएपछि असन्तुष्ट बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष दिपक बोहरा कमल थापासँग अंकमाल गर्न पुगेका छन्।

झण्डै डेढ दर्जन जति नेता कार्यकर्ता लिएर कुनैबेलाको माउ पार्टीका रुपमा परिचित थापा नेतृत्वको राप्रपामा फर्किएपनि बोहराको फर्काइलाई दुई पक्षबीचको एकताको नाम दिइएको छ।

थापा र बोहरा पक्षबीच भएको आन्तरिक सहमति पश्चात आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा दुई नेताले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरे।

बोहरासहित राप्रपा (प्रजातान्त्रिक)का कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदिपकुमार उदय लगायतका डेढ दर्जन नेता कार्यकर्तालाई माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

दुई पक्षबीच भएको सहमति अनुसार उक्त पार्टीले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र लगायतका विषयलाई आफ्नो वैचारिक आधारस्तम्भको रुपमा लिएको छ।

साथै उनीहरुबीच समान विचारधारा भएका राजनीतिक दलहरुबीचको एकताको प्रयासलाई जारी राख्ने भन्दै त्यसमा राणा र लोहनीको राप्रपा संयुक्तलाई पनि समावेश हुने स्थान कायम गरेका छन्।