अन्तरप्रदेश परिषद बैठकको साइत बल्ल आज जुर्यो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, मंसिर २३

नयाँ संविधान बमोजिम केन्द्र र प्रदेशबीचकोे समन्वयका लागि नियमित रुपमा बस्नु पर्ने अन्तरप्रदेश परिषदको केन्द्र र प्रदेश सरकार गठन भएको झण्डै १० महिनापछि पहिलो बैठक आइतबार बसिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका मन्त्रीहरु सहभागी भएका छन्।

भदौ २४ मा आयोजित बैठक स्थगित भएपछि प्रदेशका मुख्यमन्त्रीहरुले बैठकको माग गर्दै आएका थिए।
जारी बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भए गरेका कामका बारेमा संघीय सरकारलाई जानकारी गराउने कार्यक्रम छ।

सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशको काम कारवाही र समस्याका बारेमा जानकारी गराएपछि प्रधानमन्त्री ओेलीले त्यी समस्याको समाधानका लागि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

नेपालको संविधानको धारा २३४ ले अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ। संघ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न संविधानमा अन्तरप्रदेश परिषद्को व्यवस्था गरिएको हो।

बैठकमा संघीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई कसरी समन्वय गर्ने र कसरी जनअपेक्षित नजिता निकाल्ने विषयमा समेत छलफल हुने बताइएको छ।

कुनै विषयमा विवाद भएको अवस्थामा त्यो विषयसँग सम्बन्धित नेपाल सरकारका मन्त्री र सम्बन्धित प्रदेशका मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्थासमेत रहेको छ।

त्यस्तै अन्तरप्रदेश परिषद्को बैठकसम्बन्धी कार्यविधि सो परिषद् आफैँले निर्धारण गरेबमोजिम हुने संवैधानिक व्यवस्था छ।