पहिलो दिनदेखि नै बजेट कार्यान्वयन गर्न प्रमको निर्देशन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, २७ असार

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको करीब छ घन्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालयका नीति, कार्यक्रम, योजना र बजेटको कार्यान्वयन गर्दा त्यसबाट प्राप्त हुने प्रतिफल तोकेर अघि बढ्न निर्देशन दिनुभएको हो । उहाँले समृद्धि, विकास, सुशासन र स्थिरताको जनताको चाहनालाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको थियो ।

बजेट र कार्यक्रम कार्यान्वयनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियमित अनुगमनसमेत गर्ने भएकाले अल्पकालीन र दीर्घकालीन योजनाका साथ प्रभावकारी सेवा प्रवाहमा लाग्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो । आउँदो साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु हुन्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीसमक्ष सचिवहरुले सरकारको वार्षिक र पञ्चवर्षीय योजनाबारे प्रस्तुतीकरण गरेको जानकारी दिनुभयो । छलफलमा २१ वटै मन्त्रालयका सचिवले मन्त्रालयगत कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए । रासस