माफीयाहरुको प्रभावमा परेर सरकारले अध्यादेश तुहायोः प्रधान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार २३

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले माफियाहरुको प्रभावमा परेर सरकारले चिकित्सा शिक्षा अध्यादेश तुहाउने काम गरेको आरोप लगाएका छन्।

रिपाेटर्स क्लबमा बाेल्दै उनले भने, ‘अहिलेको सत्तारुढ दल नेकपाका नेताहरु ओली र प्रचण्डजीकै सहमतिमा अध्यादेश ल्याईएको थियो तर, माफियाहरुको प्रभावमा परेर यो सरकारले तुहाउने काम गरियो, यो अत्यन्तै खेदजनक छ।’

नेता प्रधानले अनशनरत डाक्टर गोविन्द केसी सामाजिक अभियन्ता भएको बताउँदै अनशनरत व्यक्तिको ज्यान जोखिममा पर्दा लोकतन्त्रमा राज्यले ती व्यक्तिको जीवन रक्षा गर्नुपर्ने धारणा राखे।

उनले भने, ‘गोविन्द केसी मरे मरुन भन्ने अहिलेको सरकारको सोच नै दुर्भाग्यपूर्ण र गैर–जिम्मेवार छ।’ वर्तमान सरकारले यसैगरी घमण्ड गरिरहे परिणाम राम्रो नहुने उनको चेतावनी छ।

उक्त चिकित्सा शिक्षा विद्येयक ल्याउँदा सरकारले दुर्गा प्रसाई, राजेन्द्र पाण्डे लगायतका मेडिकल माफियाहरुको सल्लाह र प्रभावमा परेर तोडमोड गरि माफियाहरुको अनुकुलतामा ल्याएको पनि उनले गम्भिर आरोप लगाए।
्उनले भने, ‘समय हुँदै अध्यादेश नल्याएर अहिले ती मेडिकल माफियाहरुको सल्लाहमा विद्येयक ल्याएर अध्यादेश तुहाउने काम भयो, यो आपत्तिजनक छ।’

डाक्टर केसी पनि महात्मा गान्धीजस्तै सत्याग्रही व्यक्ति भएकोले सरकारले ढिलो नगरी वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने उनको सुझाव छ।

उनले भने, ‘समाजवादउन्मुख संविधान छ, हामी रचनात्मक प्रतिपक्षी हौं, ब्रिफ–केश खोसेर च्यात्ने प्रतिपक्षी होईनौं, हतियार बोक्ने र झापामा टाउको काट्ने कामपनि हामीले गरेका छैनौं, हाम्रो प्रस्तावमाथि सदनमा छलफल हुनुपर्छ, यसको लागि सरकार तयार हुनुपर्छ।’

सरकारले विषयगत समिति नै गठन नभईकन विद्येयक ल्याउने काम गरेको भन्दै उनले आपत्ति जनाए। उनले भने, ‘यो भनेको सरकार अहिले पेलेरै जाने मनस्थितिमा रहेको भन्ने बुझिन्छ।’