सडक बनाउन गएका १५ मजदूरकाे टिपर दुर्घटनामा निधन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
मुस्ताङ, २२ असार

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा १५ मजदूरको मृत्यु भएको छ ।

बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर स्याङ्बोचेमा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो ।

“दुर्घटनामा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ, सबै विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो । दुर्घटनामा परी १७ मजदूर घाइते भएका छन् ।

घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किलोमिटरको दूरीमा रहेको छ । प्रजिअ पौडेलका अनुसार उद्धारमा घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् ।

जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ । “उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पनि आउँदैछ,” खड्काले भन्नुभयो ।

दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको बेनी–कोरला सडकखण्डका इन्जिनियर जगत प्रजापतिले बताउनुभयो । सोही निर्माण कम्पनीको टिपर दुर्घटनामा परेको हुनसक्ने बताइएको छ । रासस