मूल्यबृद्धि र सरकारी अराजकताविरुद्ध तरुण दल सडकमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १३

नेपाल तरुण दलले जनताले दिएको म्यान्डेट विपरित वर्तमान सरकारले संविधानको कार्यान्वयन भन्दा त्यसको अपमान गर्दै जनताको अधिकार कुण्ठित गर्न उद्धत भएको भन्दै विरोधमा उत्रिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था तरुण दलका अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा बुधबार शान्ति बाटिकामा चर्को मूल्यबृद्धि, अदालतमाथिको हस्तक्षेप, प्रेस स्वतन्त्रतामाथिको आक्रमण र भ्रष्टाचारको विरुद्ध विरोध सभा आयोजना गरिएको थियो।

उक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले जनतालाई आश्वासनको पाका बाँडेर चुनाव जितेको कम्युनिष्ट गठबन्धनको सरकारले दैनिक उपभोग्य वस्तुको चर्को मूल्यबृद्धि गरेर जनताको मतको दुरुपयोग गरेको आरोप लगाए।

उनले सरकारको प्रमुख दायित्व संविधानको कार्यान्वयन तथा कानुनी शासनको प्रत्याभूति गर्नु पर्नेमा त्यसविपरित शक्ति सन्तुलनको सिद्धान्त विपरित स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी अदालतमा राजनीतिकरण गर्न लागेको आरोप पनि लगाए।

त्यसैगरी उनले दुई तिहाई बहुमतको आडमा सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाएर नागरिकको सुशुचित हुन पाउने अधिकारमाथि अतिक्रमण गर्न लागेको भन्दै त्यसको विरोधमा आम जनता र प्रेस स्वतन्त्रताका पक्षधरहरु सजग हुनु पर्ने पनि उलने बताए।

सुशासन र भ्रष्टाचारमा सून्य सहनशिलताको रटान दिने सरकार र त्यसको नेतृत्व नै सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्दै भ्रष्टाचार जन्य गतिविधिमा क्रियाशिल हुँदै मुलुकको समग्र राजनीतिक र आर्थिक स्थिति तहस नहस गर्न लागेको उनको दाबी थियो।

सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दा ढुवानी खर्च बढेपछि बजार भाउ आकासिएर सर्वसाधारण जनता महंगीको मारमा पर्दा पनि सरकार र त्यसको नेतृत्वले उखान टुक्का गर्दै मूल्यबृद्धिको बचाउ मात्र नभइ कालाबजारी र तस्करको संरक्षणमा लागेको आरोप पनि लगाए।

लोकतन्त्रको रक्षा र जनताको अधिकारीका लागि कम्युनिष्टहरुबाट सँधै खतरा रहेको दाबी गर्दै सदनदेखि सडकसम्म रहेका कम्युनिष्टहरु एक भएभने पनि उनीहरुको अलोकतान्त्रिक गतिविधि विरुद्ध आफूहरु लड्न तयार रहेको पनि उनको उद्घोष थियो।

कार्यक्रममा महासचिव भुपेन्द्रजंग शाही लगायतका वक्ताहरुले पनि सरकारको गलत क्रियाकलायको चर्को विरोध गरेका थिए।