खेल ब्राजिलले जित्यो, दर्शकको मन कोष्टारिकाले!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ८

रसियामा जारी विश्वकप फुटबलको लिग चरण खेलमा शुक्रबार समूह ‘इ’ को ब्राजिलले अतिरिक्त समयमा लगातार २ गोल गर्दै कोष्टारिकालाई पराजित गरेको छ।

विश्वकप उपाधि पाँच पटक जित्न सफल ब्राजिलले नकआउट चरणमा प्रवेशका लागि अंक बटुल्न अथक प्रयास गरेपनि पहिलो हाफ गरी नियमित ९० मिनेटको खेलमा कुनै गोल गर्न सकेन।

दुबै हाफमा निरन्तर विपक्षी टिमको पोष्टमा २१ पटक आक्रमण गर्दा पनि गोल गर्न नसकेपछि ब्राजिलका स्टार खेलाडी नेइमारले आक्रोसित हुँदै डिवक्समा फौल गरेपछि रेफ्रीबाट पहेँलो कार्डको पुरस्कार पाएका थिए।

खासगरी खेलको ७९ मिनेटमा नेइमारले बल लिएर बढ्ने क्रममा डिवक्सभित्र लड्दै पेनाल्टी सुटआउटको माग गरेका थिए।

तर, रेफ्रीले भिएआरको प्रयोग गर्दै पेनाल्टी सुटआउटको माग खारेज गरिदिएका थिए।

त्यसपछि आक्रोसित बनेका नेइमारले फेरि डिवक्समा बल हातले समातेर भूइमा बजारेपछि रेफ्रीले ८१औं मिनेटमा उनीसँग कौंन्टिन्होलाई पहेलो कार्ड देखाएका थिए।

त्यसपछि पनि नियमित आक्रमणको प्रयास गरेको ब्राजिलले नियमित ९० मिनेटमा गोल गर्न नसक्दा ब्राजिलका स्टार खेलाडीहरु नै निराश हुँदै खेल अनुशासन विपरितको व्यवहार प्रदर्शन गरे। उनीहरुको व्यवहारले गर्दा स्वयं ब्राजिलका समर्थक समेत खिन्न बन्न पुगे।

थप गरिएको ६ मिनेटको पहिलो मिनेट अर्थात ९१ मिनेटमै कौन्टिन्होले गोल गर्दै ब्राजिलको नकआउट चरणको यात्राको आशा जगाए।

त्यसपछि पनि निरन्तर आक्रमण गरेको ब्राजिलका लागि थपिएको अन्तिम मिनेटमा नेइमारले अर्को गोल गर्दै कोष्टारिकालाई दुई सून्य गोल अन्तरले पराजित गर्न सफल भए।

खेलमा एसिस्टण्ट रेफ्रीले ६ मिनेट थप गरेपनि नेइमारले गोल गर्दा मैदानको घडीमा ७ मिनेट कटिसकेको थियो।

लिग खेलको पहिलो प्रतिस्पर्धामा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिलले अघिल्लो चरणमा प्रवेशका आजको खेल जितेपछि चार अंक बटुलेको छ।

कोष्टारिका जस्तो टिमलाई हराउन गर्नु परेको कठिन प्रयास र त्यसक्रममा आफूबाट भएको खेल अनुशासन विपरितको कार्यबाट सायद लज्जित भएर होला नेइमार खेल जितिसकेपछि मैदानमै थचक्क बसेर टिसर्टले मुख छोपेर रोए। बिहीबार रातीकाे खेलमा पनि अर्जेन्टिनाका स्टार लियाेनल मेसी क्राेयसियासँग पराजित भएपछि त्यस्तै व्यवहार देखाएका थिए।

सर्वियासँग पहिलो खेलमा पराजित भएको कोष्टारिका ब्राजिलसँग पनि पराजित भएसँगै राउण्ड आफ १६ को यात्रा टुंगिएको छ।

आजको खेलमा भलै ब्राजिलले कोष्टारिकालाई पराजित गर्यो तर, दर्शकको मन भने ब्राजिल भन्दा कोष्टारिकाले नै जित्न सफल भयो।