अर्जेन्टिना र मेसीको भाग्य परिक्षण आज

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
बिशाल बुढाथाेकी
काठमाडौं, असार ७

विश्वकप फुटबल प्रतियोगिताको लिग खेल अन्तरगत बिहीबार मध्यरातको खेलप्रति अधिकांश फुटबल प्रेमीहरुको ध्यान केन्द्रित रहेको छ।

आज राति हुने खेल नकआउट चरणको सेमिफाइनल वा फाइनल खेल होइन तर, पनि यो खेलप्रति फुटबल प्रति मोह भएकाहरुको लागि फाइनल भन्दा कम चासोको विषय बनेको छैन।

समूह ‘डी’ मा रहेको अर्जेन्टिना र क्रोयसियाबीच हुन लागेको लिग चरणको दोस्रो खेलप्रति सबैले उत्सुकताका साथ हेरिरहेका छन्। यसरी जनचासो बढ्नुको प्रमुख कारण विश्व चर्चित फुटबल स्टार लियोनल मेसी हुन भने दोस्रो कारण फुटबलको इतिहासमा निरन्तर चर्चाको केन्द्रमा रहिरने राष्ट्र अर्जेन्टिना आफैँ पनि हो।

पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको अर्जेन्टिना र त्यसका क्याप्टेन मेसीका लागि यो खेल जीवन मरणको सवाल बन्न सक्दछ। अर्जेन्टिनाका लागि लिग चरण पार गर्दै नकआउट चरणमा प्रवेश गर्ने बाटो खुला राख्ने हो भने आजको खेलमा मेसी र उनका सहयात्रीहरुले यो खेल जित्नै पर्नेछ।

उक्त समूहको क्रोयसियाले पहिलो खेलमा नाइजेरियालाई दुई सून्य गोल अन्तरले पराजित गर्दै ३ अंक बटुलेर समूहमा शीर्ष स्थानमा रहेको छ। उसका लागि यो खेल जित्न सकेको खण्डमा राउण्ड अफ १६ को बोर्डिङ पास लिए सरह हुने छ भने बराबरीमा रोकियो भने पनि अघिल्लो चरणका लागि आशा जिवितै रहनेछ। तर, अर्जेन्टिनाका लागि भने यो खेल जित्न नसके सन १९७४ को इतिहासको पुनरावृत्ति हुन सक्दछ।

आइसल्याण्ड विरुद्धको पहिलो खेलमा गोल गर्ने थुप्रै अवसरसँगै पेनाल्टी सुट आउटको अवसर पाएर पनि गुमाएर अर्जेन्टिनाका स्टार खेलाडी मेसीका लागि यो खेल अग्निपरिक्षा भन्दा कम हुने छैन। किन भने, उनीसँगै विश्व फुटवल वर्ष खेलाडीका लागि प्रतिष्पर्धा गर्ने रियल म्याड्रिडका क्रिष्टियानो रोनाल्डोले आफ्नो मुलुक पोर्चुगलका लागि चार गोल गर्दै नकआउट चरणमा प्रवेशको बलियो सम्भावना बनाएका छन्। तर, स्पेनिस् क्लबबाट खेल्दा सधैँजसो सफलता हाँसिल गरेका मेसीले विश्वकप खेल पाँच पटक खेलेर पनि कुनै उपाधि दिलाउन नसकेको पिडा छ।

वार्सिलोनाका लागि वरदान जस्तै बनेका मेसी आफ्नो मुलुक अर्जेन्टिनाका लागि कतै अभागी त होइनन् अथवा कहिँ अर्जेन्टिना नै उनका लागि अभिशाप हो कि भन्ने गम्भिर प्रश्न उब्जिने खतरा रहेको छ।

शीर्ष स्थानमा रहेको क्रोयसियाले आजको खेलमा आफ्ना मिड फिल्डर इभान राकिटिक र लुका मोद्रिकले विपक्षी टिमका मिडफिल्डरहरु मासीरानो र लुकास विग्लियालाई नियन्त्रण गर्न सके भने अर्जेन्टिनाका लागि यो खेल आइसल्याण्डविरुद्धको खेलभन्दा कमजोर हुन सक्ने विश्लेषण खेल विश्लेषकहरुले गरिरहेका छन्।

यसरी विश्षलेण गर्नुको मुख्य कारण क्रोयसियाले विश्वकप छनौटका लागि भएको अन्तिम खेलमा ग्रीस विरुद्ध ४-१ गोल अन्तरको विजय निकाल्दा उनीहरुले देखाएको रोमाञ्चक प्रदर्शनले गर्दा हो।