स्पेनदेखि पोर्चुगल, उरुग्वे र इरान राउण्ड अफ १६ को प्रवेशाज्ञा खोज्दै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ६

रसियामा जारी विश्वकप फुटबल २०१८ को लिग चरण अन्र्तगत बुधबार तीन खेल हुने भएका छन्।

नेपाली समय अनुसार अपरान्ह ५ः४५ बजे समूह ‘बी’ को पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुने छ।

रियल म्याड्रिडका सुपर स्टार क्रिष्चियानो रोनाल्डोको एक्लो प्रदर्शनीमा स्पेनलाई बराबरीमा रोकेर अंक बाँडेको पोर्चुगलले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गर्न आजको खेलमा मोरक्कोलाई पराजित गर्ने लक्ष्यसाथ मैदानमा उत्रदैछ।

उता पहिलो खेलमा इरानसँग एक सून्य गोल अन्तरले पराजित भएर समूह चरणको अन्तिम स्थानमा रहेको दक्षिण अफ्रिकन राष्ट्र मोरक्को पनि पोर्चुगललाई हराएर अघिल्लो चरणमा प्रवेशको ढोका खुला राख्न चाहन्छ।

स्पेनविरुद्ध एक्लैले तीन गोल गरेर बराबरीमा रोक्न सफल रोनाल्डोलाई गोल गर्नबाट रोक्न सकेभने पनि उसका लागि ठूलो जित सरह हुनेछ।
त्यसैगरी साँझ ८ः४५ बजे समूह ‘ए’ को उरुग्वे र साउदी अरेवियाबीच खेल हुँदैछ।

वार्सिलोनाका स्टार लुइस स्वारेजको टिम उरुग्वेले यसअघि मो. सलाहको टिम इजिप्टलाई एक सून्य गोल अन्तरले पराजित गरेको थियो। दोस्रो राउण्डमा प्रवेशका लागि उसले आजको खेलमा साउदी अरेवियालाई पराजित गर्न चाहन्छ।

रसियासँग ५ गोल खाएको साउदी अरेविया आजको खेलमा उरुग्वेसँग पराजित भयो भने समूह ‘ए’ बाट उसँगै इजिप्ट पनि लिग चरणबाटै बाहिरिने छ भने आयोजक राष्ट्र रसिया र उरुग्वे दोस्रो राउण्डमा प्रवेश गर्ने छन्।

उक्त समूहमा रसियाले साउदी अरेविया र इजिप्टलाई पराजित गरी ६ अंक बटुलेको छ भने उरुग्वेको एक खेलबाट ३ अंक रहेको छ।

मध्येरातमा हुने तेस्रो खेलमा समूह ‘बी’ मा रहेका स्पेन र इरानबीच प्रतिस्पर्धा हुँदैछ। सन् २०१० को विश्वकप विजेता स्पेनले इरानलाई पराजित गरी दोस्रो राउण्डको यात्रा सहज बनाउन चाहन्छ।

पहिलो खेलमा पोर्चुगलसँग बराबरी गर्दै एक एक अंक बाँडेको स्पेनले आजको खेलमा जित निकाल्न चाहेपनि मोरक्कोलाई एक सून्य गोलले पराजित गरेर तीन अंक बटुलेको इरानका लागि स्पेनलाई बराबरीमै रोक्न सक्यो भने पनि दोस्रो चरणको प्रवेशको आशा बाँकी नै रहनेछ। जुन स्पेनका लागि घातक सिद्ध हुन पनि सक्छ।