कोलम्बियाविरुद्धको खेलमा जापान २-१ गोलले विजयी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ५

रसियामा जारी विश्वकप फुटबल खेलमा जापानले समूह ‘एच’ मा कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गर्दै तीन अंक बटुलेको छ।

मार्दोभिया रंगशालामा नेपाली समय अनुसार मंगलबार साँझ भएको खेलको तीन मिनेटमै कोलम्बियाका कार्लोस सान्चेजले पेनाल्टी वक्समा हातले बल हानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए।

सान्चेजको गल्तीबाट जापानले पाएको पेनाल्टी सुटआउटको अवसरलाई १० नम्बर जर्सीका कागावाले कुनै अवसर नगुमाई गोलमा परिणत गरेपछि पहिलो हाफको ६ मिनेटमै जापान एक सून्य गोलको अग्रता लिन सफल भयो।

तर सान्चेज मैदान छाडेर १० जना खेलाडीमा सिमित भएको कोलम्बियाले खेलको ३९औँ मिनेटमा पाएको फ्रि किकलाई कोलम्बियाका जोन क्वीन्टेरोले गोलमा परिणत गर्दै पहिलो हाफको खेल बराबरीमा टुंग्याए।

उनले हानेको लो ग्राउण्ड बललाई जापानका किपरले रोक्ने प्रयास गर्दा गर्दै बल गुडेर पोष्टको लाइनभित्र गएको थियो जसलाई रेफ्रीले कुनै गल्ती नगरी गोल करार गरिदिए।

दोस्रो हाफको खेलमा विपक्षी टिमलाई निरन्तर दबाबमा राख्न सफल जापानले खेलको ७३औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता लियो।

ओशाकाले हेड गर्दै बल कोलम्बियाली पोष्टभित्र छिराएपछि एशियन टोली जापानले विपक्षी टिमलाई थप दबाबमा राख्न सफल भयो।

त्यसपछिको नियमित ९० मिनेटको खेलसँगै थप गरिएको पाँच मिनेटको समयमा कुनै गोल नभएपछि जापान कोलम्बियालाई दुई एक गोल अन्तरले पराजित गर्दै समूह चरणमा ३ अंक बटुल्न सफल भयो।

अब जापानले असार १० गते अफ्रिकी मुलुक सेनेगलसँग दोस्रो खेल खेल्ने छ।