‘पेले द लिभिङ लेजेण्ड’

नेइमारजस्ता खेलाडीले पेलेकै लय समात्लान त!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
बिशाल बुढाथाेकी
काठमाडौं, असार ३

रसियामा बिहिबारदेखि सुरू भएको २१औं संस्करणको विश्वकप फुटबलले यतिखेर सबैको ध्यान तानेको छ।

सहभागी भएका देशमात्र नभएर घरघरमा टेलिभजनको पर्दामा हेरेर रमाउने पनि उत्तिकै छन्। परिवारबीच को कसको सपोर्टर भन्ने होडबाजी नै चलिरहेको छ।

फुटबलको क्रेज जताततै फैलिएको छ। कोही डिफेन्डिङ च्याम्पियन जर्मनीको समर्थक छन् भने, कोही अर्जेन्टिना त, कोही इङ्ल्याण्ड, फ्रान्स, स्पेन र ब्राजिलका फ्यान। अहिलेसम्मको विश्वकपमा कैयौं खेलाडीले आफ्नो क्षमता देखाइसकेका छन्।

यस्तै आफूलाई दशकौंसम्म यादगार बनाउन सफल र ३ चोटिसम्म आफ्नो देशलाई विश्वकपको ट्रफी दिलाउन सफल एक मात्र नाम हो ‘पेले’।

फुटबलको नाम आउनासाथ पेलेलाई नचिन्ने सायदै होलान्। ब्राजिलियन फरवार्ड पेले याे  शताब्दीकै नामी हस्ती हुन्। १५ वर्षको उमेरबाट फुटबल खेल्न थालेका उनी १६ वर्षकै उमेरमा ब्राजिलको राष्ट्रिय फुटबल टोलीमा छानिए।

ब्राजिलको गरिब परिवारमा जन्मिएका पेलेको बाल्यकाल अभावै अभावमा बित्यो। उनी बाल्यकालमा नांगो खुट्टाले झुम्राको बल खेल्थे। सडकबाटै उनले फुटबलको कला सिकेका थिए। १६ वर्षमै उनी ब्राजिलको राष्ट्रिय टोलीमा परे र १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी पनि बने।

सन् १९५८ को विश्वकपपछि त उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, उनि संसार भरी पेलेबाटै चिनिए ।

ब्राजिलियन (पोर्चुगिज) भाषामा नांगो खुट्टाले खेल्नुलाई पेलेदास भनिन्छ । उनको बचपन त्यसैगरी खेलेर बितेको थियो । तर, त्यसपछि भने पेलेको सम्बोधनमा कुनै नाम मात्र रहेन, आदर, माया र स्नेहसमेत गाँसिएर आयो। यो नाममा ती महान् खेलाडीको दुःख, कष्ट र दरिद्रताको कथा भरिएको छ। अनि छ, उनको संकल्प र निरन्तर साधनाको प्रेरणादायी प्रसंग।

अन्तर्राष्ट्रिय खेलमा उनी एक मात्र यस्ता खेलाडी हुन् जसले ३ फिफा विश्वकप सन् १९५८, सन् १९६२ र सन् १९७० मा आफ्नो देशकाे नाममा दर्ता गराउन सफल भए।

उनी ९२ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेर ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हन्। सन् १९४० अक्टोबर २३ मा फुटबलर डन्डोन्नो र सेलेस्टे अन्टेसका कोखबाट जन्मिएका एड्सन आरान्तेस दो नासिमेन्तो (पेले) फुटबल खेल्नकै लागि जन्मिएका हुन्। स्कूल समयमा उनलाई स्थानीय गोलकिपर बिलले साह्रै मन पर्थ्यो। एकपटक स्कूलमा उनको नाम उल्टो उच्चारण गरेका थिए। तीनै गोकिपरको उल्टो नामलाई साथीहरूले उनलाई उपनाम दिएका हुन् जुन नामबाट अहिले उनी विश्व चर्चित भएको आत्म कथामा भनेका छन्। तर, उनलाई अहिलेसम्म यो नामको अर्थ थाहा नभएको बताएका छन्।

ब्राजिल र पेले बेगर आधुनिक फुटबलको चर्चा असम्भव छ। विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको उदय हुनु अघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन। विश्वकप फुटबल प्रतियोगिताको सुरुवातका पाँच वटै संस्करणमा भाग लिएको ब्राजिलका लागि नतिजा सहज हुन सकिरहेको थिएन।

फुटबल भनेपछि हुरुक्कै हुने ब्राजिलले सन् १९५० को चौथौं विश्वकपको आयोजना गर्‍यो। उसले प्रतियोगितालाई भव्य बनाउन २ लाख अट्ने रंगशालासमेत निर्माण गर्‍यो। त्यहीबेला ब्राजिल उपाधि जित्न चाहन्थ्यो। तर निर्णायक खेलमा उरुग्वेसँग पराजित भएपछि ब्राजिलको उपाधि जित्ने सपना पूरा हुन सकेन।

सन् १९५४ मा स्विट्जरल्यान्डमा आयोजना भएको पाँचौ संस्करणमा त ब्राजिल क्वार्टरफाइनलबाटै आउट हुनुपर्‍यो। सन् १९५७ जुल ७ मा अर्जेन्टिना विरुद्धको खेलमा पेले उपनाम गरेका खेलाडीले १६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरे। डेब्यु खेलमै गोल गरेपछि पेलेले ब्राजिलियन फुटबलमा आशाको सञ्चार गराइदिए। डेब्यु खेलमै गोल गरेपछि पेलेले मात्र होइन ब्राजिलले पनिपछाडि फर्केर हेर्नुपरेन।

ब्राजिललाई विश्व च्याम्पियन बनाउँदै तहल्का मच्चाएका पेले पछि शताब्दीका महान् फुटबलरको रुपमा पुकारिए। सन् १९५८ को विश्वकपमा पेलेलाई खेलाइएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो। यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले ६ गोल गरे।

उनले फ्रान्स विरुद्धको सेमिमफाइनलमा ह्याट्रिक गरेपछि ब्राजिल ५–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा पनि पेलले उत्कृष्ट खेल पस्के। स्विडेनविरुद्ध फाइनलमा पेलेले २ गोल गरेका थिए। उक्त खेलमा ब्राजिल ५–२ ले विजयी हुँदै पहिलो पटक विश्व च्याम्पियन बन्न सफल भयो। यही विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादुगर कहलिए।

सन् १९६२ मा चिलीमा आयोजना भएको सातौं संस्करणको विश्वकपमा पनि पेलेको फर्म उस्तै थियो। उनले समूह चरणमा मेक्सिकोविरुद्ध पहिलो खेलमा गोल गरे। अन्य खेलमा भने गोल गर्न सकेनन्। तरपनि, उनको टिममा प्रभाव उस्तै थियो। फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।

सन् १९६२ पछि कुनै पनि देशले लगातार दोस्रो पटक उपाधि जित्न सकेका छैनन्। सन् १९६६ मा इङ्गल्याण्ड विश्वकपमा पोर्चुगलविरूद्ध खराब ट्याकल गरेका पेले गम्भीर घाइते हुँदै खेलबाट बाहिरिएका थिए। उनी बाहिरिएपछि लयमा रहेको ब्राजिल अनावश्यक ट्याकलिंगको शिकार भएर प्रतियोगिताबाट बाहिरियो।

त्यही वर्ष उनको उपचारको क्रममा आफू विश्वकप खेल्न नसक्ने भने पनि फ्यानको विशेष आग्रहले सन् १९७० को विश्वकप खेलेर उपाधि जिताए। सन् १९६६ मा बिर्सनलायक प्रदर्शन गरेको ब्राजिल सन् १९७० को विश्वकपलाई यादगार बनाउन चाहन्थ्यो। भयो पनि त्यस्तै।

मेक्सिकोमा आयोजना भएको विश्वकपको पहिलो खेलमा ब्राजिलले चेकोस्लोभाकियालाई ४–१ गोलले हराउँदै शानदार सुरुवात गर्‍यो। पेलेले उक्त खेलमा गोल गर्न सफल भए। समूह विजेता बनेको ब्राजिलले क्वार्टरफाइनलमा पेरुलाई तथा सेमिफाइनलमा उरुग्वेलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। फाइनलमा इटालीलाई ४–१ गोलले हराउँदै ब्राजिल तेस्रो पटक उपाधि जित्न सफल भयो।

फाइनलमा पेलेले सुरुवाती गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए। सो विश्वकपमा पेलेले ४ गोल गरे। सन् १९५८, १९६२ र १९७० तीन पटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए।

विश्पकपमा खेलेका १४ खेलमा पेलेको खुट्टाबाट १२ गोल निस्किएको थियो। आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे।

एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेले। सन् २००० मा फिफाका जुरीहरूले पेलेलाई प्लेअर ओफ सेन्चुरीको नामबाट सम्मानसमेत गरेका थिए।

उनको फुटबलप्रतिको योगदानको उच्च कदर गर्दै उनलाई लिभिङ्स लेजेन्ड बनायो। पेलेको सन्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्‍यो, सन् १९९४ को विश्वकपसम्म।

उनले एक दर्जनजति फिल्ममा समेत अभिनय गरेका छन्। ७७ वर्षीय पेले गएको वर्ष मिर्गौला र प्रोस्टेटमा आएको समस्याका कारण अस्वस्थ छन्। उनी विश्वकपको उद्घाटनमा रसिया आए पनि उद्घाटन समाराेहमा उपस्थित हुन पाएनन्।

आज उनै पेलेको देश अर्थात ब्राजिलले २१औं विश्वकपमा स्विटजरल्याण्डसँग खेलेर प्रतियोगिताको सुरूवात गर्दैछ। आज ब्राजिलकाे टिममा पेले छैनन् तर, नेइमारजस्ता खेलाडीले तिनै पेलेको लय समात्ने आशा गर्न सकिन्छ।

नेपाली समय अनुसार राति पौने १२ बजे खेल हुनेछ। खेल हेर्न पेले मैदानमा जानसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। (एजेन्सीको सहयोगमा)