सुशील कोईरालाको दोस्रो स्मृति दिवस आज

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाैं, माघ २६

नेपालको संविधान २०७२ जारी गर्ने नेतृत्वदायी भुमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ।

नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरुले कोइरालाको स्मृति दिवस मनाउँदै छन्। कोइरालाको २०७२ साल माघ २६ गते निमोनियाका कारण निधन भएको थियो।

उनी २०६७ साल भदौ २५ गतेदेखि कांग्रेसको सभापति थिए। २०७० माघ २७ गते संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका कोइरालाले संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज २३ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका छन्। पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे। सरकारी लाभको पदमा नरहेका सुशिल सन्त राजनैतिक नेताका रूपमा पनि परिचित छन्।

उनले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गरेका थिए।

पार्टी सङ्गठनमा विशेष चासो लिने सुशिल तत्कालीन प्रतिनिधिसभा चुनावमा २०४८ र २०५६ मा बाँके जिल्लाबाट निर्वाचित भएका थिए। सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनैतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए।