बाँकेमा वाम गठबन्धनलाई ठूलो झड्का, माओवादी पुर्व कमाण्डर सहित सयौँ कांग्रेसमा प्रवेश

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
बाँके, मंसिर १४

बाँकेको क्षेत्र नम्बर १ मा वाम गठबन्धनलाई ठुलो झड्का लागेको छ । माओबादी केन्द्रका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेपछि उक्त गठबन्धनलाई झड्का लागेको हो ।

माओबादी केन्द्रका जिल्ला सदस्यहरु नगेन्द्र शर्मा, प्रेमबहादुर थारु माओबादीका पुर्व जनमुक्ति सेना हरिराम थारु लगायत सयौं व्यक्तिहरु बिहिबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसमा प्रवेश गरेका अधिकांश व्यक्ति माओबादीले आफ्नो आधार क्षेत्र मान्ने राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी हुन् । त्यसक्षेत्रमा आयोजित एक कार्यक्रमका बीच राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् नेपाली काँग्रेसका जिल्ला सदस्य लाहुराम थारु लगायतले नवप्रवेशीलाई रुख चिन्ह प्रदान गरेर पार्टी प्रवेश गराउनुभएको थियो ।

नेपाली काँग्रेसमा प्रवेश गरिसकेपछि पुर्वजनमुक्ती सेना थारुले माओबादी पार्टीको आयु अब धेरै नभएको बताए । ‘जुन उद्देश्य बोकेर हजारौं नेपालीका छोराछोरीलाई माओबादीले युद्धमा सहभागी गराएको थियो, अहिले उसले ती सबै कुरालाई बिर्सेर एमाले जस्तो सिद्धान्त विहिन पार्टीसँग कुम जोडेर हिडिरहेको छ, यो माओबादीको सिद्धिने संकेत हो’ उहाँले भन्नुभयोे ।

पार्टी प्रवेश गरेकाहरुले लोकतन्त्र रक्षाका लागी आफुहरु नेपाली काँग्रेसमा आएको बताउँदै आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन सबैलाई आग्रह गर्नुभएको छ ।

माओबादीका प्रभावशाली स्थानीय नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेपछि बाँकेको क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधी सभा उम्मेदवार महेश्वरजंग गहतराज र प्रदेश सभा–१ ‘क’ का उम्मेदवार कृष्णा केसीलाई ठूलो झड्का लाग्ने स्थानीय स्तरमा चर्चा चलेको छ ।

क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार माधवराम खत्री, प्रदेश सभा–१ ‘क’ मा शरदचन्द्र बर्मा र प्रदेश सभा–१ ‘ख’ मा नारायणप्रसाद गौडेल मैदानमा हुनुहुन्छ । चुनाव नजिकिदै गर्दा उक्त क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आफ्नो माहोल तत्ताईरहेका छन् ।