प्रधानमन्त्री देउवा र दाहालबीच वार्ता

गठबन्धन कायमै गरी चुनावमा जाने विषयमा छलफल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असाेज १७

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकिकरणको समाचार बाहिर आए लगत्तै सत्तारुढ नेपाली कांग्रेसको नेतृत्वले माओवादीलाई विश्वासमा लिँदै गठबन्धनलार्इ कायम राख्दै चुनावमा जानेबारे छलफल गरेको छ।

आसन्न निर्वाचन अगाडि नै दुई दलबीच एकिकरण र निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर जाने सहमति नजिक पुगेको समाचार बाहिर आए लगत्तै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको सफल कार्यान्वयनका लागि वर्तमान सत्तागठबन्धनलार्इ निरन्तरता दिँदै अगाडि बढ्न आग्रह गरेका थिए।

एमालेसँगको गठबन्धन र तालमेलले सरकार संचालनमा मात्रै नभएर आसन्न निर्वाचन प्रभावित हुन सक्ने खतराबारे पनि कांग्रेसका नेताहरुले माओवादी नेतृत्वलाई सचेत रहन सुझाएका थिए।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि माओवादीसँग चुनावी तालमेल गरेर जान आफूहरु तयार रहेको बताउँदै कांग्रेसका नेताहरुले दाहाललाई यसबारेमा पनि गम्भिरताकासाथ सोच्न आग्रह गरेका थिए।

जबाफमा दाहालले आफ्नो पार्टीभित्र एमालेसँग चुनावी गठबन्धन र एकिकरणको विषयमा छलफल चले पनि अन्तिम निर्णय भइनसकेको उल्लेख गर्दै आजै एमाले नेतृत्वसँग एकपटक कुराकानी गरेपछि अपरान्ह ३ बजेपछि पुनः भेट्ने बताउँदै दाहाल बालुवाटारबाट बाहिरिएका थिए।

एमाले र माओवादी नेताहरुले दिएको जानकारी अनुसार, दुई दलका शीर्ष नेताहरु अहिले पार्टीबीच आपसी चुनावी तालमेलदेखि दुई पार्टीको एकिकरणको विषयमा गोप्य वार्तामा बसीरहेका छन्। उनीहरुबीचको वार्ता टुंगोमा पुग्यो भने आजै दुई पक्षका शीर्ष नेताहरुले पत्रकार सम्मेलन मार्फत चुनावी तालमेल र पार्टी एकिकरणबारे सार्वजनिक जानकारी गराउने तयारी पनि भइरहेको छ।

माओवादी अध्यक्ष दाहालसँगको भेटवार्ताबारे छोटो प्रतिक्रिया दिँदै कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘उहाँहरुसँग कुराकानी भइरहेको छ। फेरी आजै अपरान्ह आउँछु भन्नु भएको छ। त्यसपछि मात्रै विस्तृतमा थाहा हुन्छ।’