सरकारको कामकाजमा बाधा पुग्नेगरी आचारसंहिता: उपप्रम गच्छदार

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
राजविराज, १७ भदौ

उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचन आयोगले सरकारको कामकाजलाई बाधा हुनेगरी तीन महिनाअघिनै आचार संहिता लागु गरेकोप्रति आपत्ति जनाउनुभएको छ ।

राजविराजस्थित नेपाल पत्रकार महासंघमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारको कामकाजमा दख्खल दिएर हातखुटृा बाँधेको भन्दै यसलाई सच्याउनुपर्ने बताउनुभयो ।

अबको तीन महिनापछि (मंसिर) मा हुने निर्वाचनका लागि अहिले नै आचार संहिता लगाउनु जायज नभएको भन्दै यसले सरकारको दैनिक कामकाजमा नै प्रभाव परेको उहाँले उल्लेख गर्नुभयो ।

यति लामो अवधिका लागि आचारसंहिता लागू भएको पहिलो पटक भएको बताउँदै उम्मेदवारी दर्ता भए वा निर्वाचनको ३५ दिनअगावै आचारसंहिता लगाइन्थ्यो तर मंसिरमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले अहिले नै आचारसंहिता लगाएकोप्रति उहाँले आक्रोस व्यक्त गर्नुभयो ।

तीन महिना अगावै सरकारको कामकाज नै प्रभावित हुने गरी लगाइएको आचारसंहिताबारे पुनर्विचार गर्न निर्वाचन आयोगलाई उहाँले आग्रह समेत गर्नुभयो ।

क्षेत्र निर्धारण गर्दा अन्याय भएको भन्दै आयोगको प्रतिवेदनप्रति समेत आफूहरूको चित्त नवुझेको उहाँले टिप्पणी गर्नुभयो ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहनुभएका गच्छदारले हालै आएको बाढीबाट क्षति भएको २ नम्बर प्रदेश मधेशका जिल्लामा चुनावलाई मध्यनजर गर्दै नेपाली सेनाले तत्काल आवागमन सहज बनाउने कार्यमा जुटेको बताउनुभएको छ ।

निर्वाचन क्षेत्र र मतदानस्थलमा बाटोघाटो बिग्रेको ठाउँमा अहिले निर्वाचन अधिकृत र मतदाता जानेगरी बाटो निर्माण कार्यमा नेपाली सेना लागेको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसद् डा. सुबोधकुमार पोखरेल, सांसद् रमणी राम समेतको उपस्थिति रहेको थियो । रासस